चितवन । राप्ती नगरपालिका २ का एक युवकको सेनाको कुटाईबाट मृत्यु भएको भन्दै दोषीमाथि कडा कारबाही को माग गरिएको छ । गत साउन १ गते लोथर खोलाको दोभानमा माछामार्न गएका २४ वर्षीय राजकुमार चेपाङको सेनाको कुटपिटबाट मृत्यु भएको आरोप परिवारको छ । खोलामा माछ र घोङगी मार्न गएका उनीसहित अन्य ७ जनालाई निकुञ्जको सेनाले कुटेको मृतकका वुवा विष्णुलाल चेपाङले बताउनुभयो । कुटाई खाएका मध्ये राजकुमारको बिहिबार बिहान मृत्यु भएको हो ।
‘साउने संक्रातीको दिन माछा र घोगी मारेर आउछु भन्दै गएका थिए, चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएका सेनाले कुटेछन्’ – उहाँले भन्नु भयो । ‘दिउसो गएको छोरो साँझ घाइते भएर आयो’ – उहाँले भन्नु भयो – ‘गाउँघर तिरको मेडिकलमा जचाए ठिक भएन । वुधबार भरतपुर अस्पतालमा ल्याएको विहीबार विहान ९ बजे अस्पतालले मृत घोषणा ग¥यो ।’
राजकुमार संगै जानु भएका सन्तलाल प्रजाले सातजना गएकोमा सबैलाई सेनाले पिटेको बताउनु भयो । उहाँले भन्नु भयो – ‘हामी खोलामा माछा घोगी मार्दै थियौ एक्कासी सेना आएर कुटे । पानीमा घोप्टो पारेर कुटे, राजकुमारलाई त झन धेरै कुटे । लौरो र बुटले कुटेको थियो ।’ संविधान सभा सदस्य गोविन्दराम चेपाङले आर्मीले कुटपिट गर्ने र सोही कारणले मृत्यु हुने अवस्थाको अन्त्य हुनु पर्ने बताउनुभयो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले कानुन भन्दा माथि कोही व्यक्ति नरहेकाले दोषी देखिए कार्बाही हुने बताउनु भयो ।
दोषीलाई कार्बाही नगरेसम्म लास नबुझ्ने भन्दै पीडितले जिल्ला प्रहरी कार्यालमा जाहेरी दरखास्त दिएका छन् । राप्ती नगरपालिका वडा नं. १ लिगलिगे पोष्टमा कार्यरत सेनाले कुटेको भन्दै जाहेरी दिएका छन् । जाहेरी दिएपनि दर्ता नगरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्य थापाले जानकारी दिनु भयो । घटनाको विषयमा आवश्यक अनुसन्धान भइराखेकाले अहिले दर्ता नभएको बताउनु भयो । मृतकको पोष्ट रिपोर्ट भने आएको छैन । नेपाल चेपाङ संघका अध्यक्ष खुशीलाल चेपाङ्ग र समितिका अध्यक्ष भीम बहादुर चेपाङ्गद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा विभिन्न माग राखिएको छ ।