काठमाडौं । विश्वको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको निर्वाचनका लागि ९७ दिन बाँकी छ । आगामी ३ नोभेम्बर, २०२० मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकनतर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटतर्फबाट जोइ वाइडेन मैदानमा छन् । आगामी चारवर्षका लागि अमेरिकाले आफ्नो राष्ट्र प्रमुखको छनोटको तयारी गर्दैगर्दा महाशक्ति राष्ट्र भएका कारण पनि विश्वको ध्यान तानिनु स्वभाविक हो । निर्वाचन नजिकिएसँगै दुबै उमेदवारहरुले मतदातालाई रिझाउन चुनावी अभियानहरु सञ्चालन गरिसकेका छन् । तर, यसपटक विगतका चुनावहरुमाजस्तो र्याली तथा मानिसहरु जम्मा गरेर चुनावी अभियान सुरु गर्नसक्ने अवस्था छैन ।
सन् २०१९ को डिसेम्बर अन्तिमबाट चीनको वुहानबाट सुरु भएको नोभेल कोरोनाभाइरसको महामारीबाट विश्वमै सबैभन्दा प्रभावित अमेरिका नै बनेको छ । कोरोना नियन्त्रणको चुनौती एकातिर छ भने अर्कातिर आन्तरिक द्वन्द्वको स्थिति छ । सामाजिक अस्थिता र ट्रम्प प्रशासनविरुद्ध आन्दोलनहरु सुरु भएका छन् । त्यसलाई दबाउन राष्ट्रपति ट्रम्पले बल प्रयोगसमेत गरेका छन् । जसले स्थिति थप नियन्त्रणबाहिर गएको थियो । यसैकारण ट्रम्प आलोचनाको निशाना बने ।
राष्ट्रपति निर्वाचनका लागि हुने पहिलो बहस आगामी सेप्टेम्बर २९ मा हुने पनि तय गरिएको छ । बहसमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी एवं डेमोक्रेटिक उमेदवार जो वाइडेन सहभागी हुनेछन् । निर्वाचन नजिकिएसँगै राष्ट्रपति ट्रम्पले राष्ट्रवादी धारलाई बलियो गरी समातेर अघि बढिरहेका छन् । उनले चीनविरुद्ध कठोर नीति लिएका छन् ।
कोरोना भाइरसको महामारीले महाशक्ति राष्ट्रलाई घुँडा टेक्न बाध्य बनाएको भन्ने विषयमा विभिन्न अन्तर्राष्ट्रिय फोरमहरु बहस भइरहँदा कोरोनामाथि नै राजनीतिक भएको डब्लूएचओले यसअघि नै बताइसकेको छ । अमेरिकामा डेमोक्रेट उम्मेदवार पक्षधर ट्रम्पले कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह नगरेको आरोप लगाइरहँदा ट्रम्पले भने कोरोना भाइरसलाई नै राष्ट्रवादको मुद्दा बनाएका छन् । उनले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ को संज्ञा दिएका छन् । उनले कोरोना महामारीका कारण बेरोजगारी बढेको भन्ने आलोचनालाई जवाफ दिन आप्रवाससम्बन्धी प्रावधानमा परिवर्तन गरेका छन् ।
न्युयोर्क टाइम्सका अनुसार २०२० को राष्ट्रपति निर्वाचनका आन्तरिक मुख्य मुद्दाहरुमा मौसम परिवर्तन, आप्रवासन, फ्रि कलेज र विद्यार्थी ऋण, बन्दुक राख्न पाउने अधिकार र बन्दुकको नियन्त्रण, अर्थतन्त्र, गर्भपातको अधिकार, स्वास्थ्य सेवा रहेका छन् । त्यसैगरी कोरोना भाइरसको नियन्त्रण, विदेश नीति, विभिन्न मुलुकसँगको व्यापार र कर प्रणाली, इरान र चीनलगायतका मुद्दाहरुमा पनि बहस र छलफल हुने उल्लेख छ ।
इरानसँगको तनाव केही कम भए पनि साम्य हुन सकेको छैन । तर, चीनसँगको तनाव भने बढ्दै गएको छ । हङकङको नयाँ राष्ट्रिय सुरक्षा कानुन, साउथ चाइना सीको मुद्दा, सिन्जियाङमा भएको मानवअधिकार उल्लंघनको विषय र मुख्यरुपमा कोरोना भाइरसको उत्पत्तिसम्बन्धमा चीनले गलत जानकारी दिएको विषयले अमेरिका-चीनबीचको तनाव बढेको हो । दुई वर्षभन्दा लामो समयदेखिको व्यापारयुद्ध सहमति नजिक पुगेका बेला सुरु भएको कोरोना भाइरस र त्यसपछि श्रृंखलाहरुले अमेरिका-चीनको दूरी बढेको देखिन्छ । जसका कारण अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउने कानुन पास गर्यो भने चीनले पनि सिन्जियाङमा अमेरिकी अधिकारीमाथि प्रतिबन्ध लगायो र वुहानमा रहेका अमेरिकी मिसनका प्रतिनिधिहरुलाई वुहान जानबाट रोक लगायो ।
पछिल्लो समय ट्रम्प प्रशासनले चीनले जासुसी गरेको आरोपमा तीन जना चिनियाँलाई पक्राउ गरेको छ भने टक्ससको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावास बन्द गराएका छ । त्यसको जवाफमा चीनले पनि रणनीतिक रुपमा अमेरिकाका लागि महत्वपूर्ण मानिएको दक्षिण-पश्चिममा पर्ने चेङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास पनि बन्द गराएको छ । कोरोना महामारीपछि विश्व व्यवस्थामा परिवर्तन हुने विभिन्न अन्तर्राष्ट्रिय संघसंस्था र फोरमहरुमा पूर्वानुमानका बीच हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनाव र दोस्रो ठूलो अर्थतन्त्र भएको चीनसँगको अमेरिकी टकरावको क्षति ट्रम्पले व्यहोर्नुपर्ने छ ।
यसका बाबजुद चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्समा जुनको अन्तिममा प्रकाशित एक लेखमा चीनले अमेरिकामा फेरि ट्रम्प नै दोहोरिउन भन्ने अपेक्षा गरेको उल्लेख गरिएको थियो । जसमा ट्रम्प नै अमेरिकामा दोहोरिएमा चीनले उनलाई विभिन्न मुद्दामा अल्झाएर आफ्नो स्वार्थ पूरा गर्न सजिलो हुने तर्क गरिएको थियो ।
सीएनएनले गरेको सर्वेक्षण अनुसार फ्लोरिडामा जोइ बाइडिनेले ५१ प्रतिशत मत पाएका थिए भने ट्रम्पले ४६ प्रतिशत मत पाएका छन् । त्यसैगरी वाशिङ्टन पोस्टले गरेको सर्वेक्षणमा ट्रम्पले ४० प्रितशतमा सीमित हुनु परेको थियो भने डेमोक्रेट उमेदवार बाइडिनले ५१ प्रतिशत मत प्राप्त गरेका थिए । क्विनिपियाक विश्वविद्यालय फ्लोरिडाले पेन्सभानिया, मिचिगन र विसकन्सिनमा गरेको सर्वेक्षणमा बाइडेन ट्रम्पभन्दा १३ पोइन्टले अघि छन् ।
चुनावी सर्वेक्षणले दोहोरो अंकमा बाइडेनको अग्रता देखाएको भएपनि कतिपय स्थानीय मुद्दामा राष्ट्रपति डोनाल्ड ट्रम्पले अग्रता राख्न सफल भएका छन् । तर तीन महिनाको चुनावी अभियानका लागि संकलन गरिएको रकममा बाइडेनले तल्लो तहका मतदाताबाट राम्रो रकम संकलन गर्न सफल भएका छन् । चुनावी अभियानको वित्तीय अवस्थाका बारेमा विश्लेषण गर्ने निकायले प्रकाशन गरेका प्रतिवेदनअनुसार अप्रिलदेखि जुन महिनाको त्रैमासिक अवधिमा ट्रम्पको चुनावी अभियानले २६ करोड ६० लाख डलर संकलन गरेकामा त्यही समयमा बाइडेनको अभियानले २८ करोड २० लाख संकलन गर्न सफल भएको छ ।
यसले गर्दा वित्तीय क्षमतामा पनि बाइडेन अगाडि रहेको राजनीतिक टिप्पणीकारले टिप्पणी गरेका छन् । अमेरिकामा खर्चिलो चुनावी अभ्यासमा मतदाता, व्यापारिक समूह, विभिन्न राजनीतिक समूहले आफनो एजेण्डामा साथ दिएकाहरुलाई चन्दासमेत दिने गर्छन् । यसलाई निर्वाचत जित्ने मजबुत आधारशीलाका रुपमा समेत लिइन्छ ।
राष्ट्रपति ट्रम्पले यस्ता सर्वेक्षणहरुलाई ‘फेक’ (गलत) भन्दै आएका छन् । आन्तरिक राजनीतिक र सामाजिक द्वन्द्वमा फसेका ट्रम्पलाई कोरोना नियन्त्रण मुख्य चुनौती बनेको छ । यसको प्रत्यक्ष लागि पूर्वउपराष्ट्रपति बाइडेनले उठाउने जनाइएको छ । राष्ट्रपति ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप विकासलाई तीव्रता दिन आग्रह गरिरहेका छन् । जसका माध्यमबाट आफ्नो गुमेको छविलाई उकास्न सजिलो हुने आँकलन गरेका छन् ।
दी इकोनमिस्टले गरेको सर्वेक्षण अनुसार भने अमेरिकी राष्ट्रपतिमा बाइडेनो जित हुने जनाइएको छ । तर, बाँकी रहेका चार महिनामा राष्ट्रपति ट्रम्पले मतदाता आफ्नो पार्न निकै मिहनेत गर्नुपर्ने जनाइएको छ । यसरी हेर्दा ट्रम्पलाई पुन: निर्वाचित हुन ट्रम्पलाई निकै संघर्ष गर्नुपर्ने देखिन्छ ।