चितवन । चितवन राष्टिय निकुञ्जको सुरक्षार्थ रहेका नेपाली सेनाको कुटपिटबाट ज्यान गुमाएका राप्ती २ राजकुमार चेपाङ्गको अन्त्यष्टि गरिएको छ । गत साउन १ गते कुटाइ खाएका चेपाङ्गको उपचारको क्रममा साउन ८ गते ज्यान गएको थियो । मृत्यु भएको ११ दिनपछि शव बुझेर परिवारले क्रिश्चियन धर्म अनुसार उनको शवको अन्त्येष्टि गरेको छ । पोष्टमार्टकका लागि काठमण्डौ पठाइएको शवलाई आफन्त र प्रहरीको रोहबरमा शनिबार राति घर ल्याइएको हो । आइतबार शवको अन्त्यष्टिअघि चेपाङ्गको घरमा शोक सभा गरिएको थियो । सभामा बोल्दै राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले दुखको घडिमा जनताको साथमा सधै नगरपालिका रहने भएकाले नआतिन आग्रह गरिन् । मृतकको छोरीको भरणपोषण र शिक्षादिक्षाका लागी निकुञ्जले सहयोग गर्ने प्रतिबद्धता गरिसकेको र आफ्नो ब्यक्तिगत सहयोग गर्नसमेत तयार रहेको उनको भनाई छ । वडाअध्यक्ष श्याम सुन्दर उप्रेतीले क्षतिपुर्ति नाबालिक छोरीको नाममा बैंकमा खाता खोली हालिने र त्यसको लागि सहजीकरण गरिदिने प्रतिबद्धता जनाए । संविधान सभा सदस्य गोविन्दराम चेपाङ्गले क्षतिपुर्ति दिने सहमति गरिएपनि पछि नपाएको उदाहरण दिदै सम्बन्धित सरोकारवालाहरुले ख्याल गर्नुपर्ने बताए । उनले पछिल्लो समय चेपाङ्गमाथि दमन भइरहेको बताउदै त्यसको बिरोध गरे । सभामा लोथर उपभोक्ता समितिका अध्यक्ष मान बहादुर स्याङ्गबो, नेपाल आदिवासी जनजाति महासंघ चितवनको अध्यक्ष सुरविर थापा, चेपाङ्ग संघका केन्द्रिय उपाध्यक्ष सुनिमाया चेपाङ्ग, समाजसेवी श्याम पाठक लगायतले शोक मन्तब्य राख्दै पिडित परिवारमा समवेदना ब्यक्त गरे ।
चेपाङ्गको निधनपछि निकुञ्ज प्रशासनको ज्यादती र नेपाली सेनाको अमानवीय हर्कतको बिरुद्धमा राप्ती नगरपालिका, नेपाल चेपाङ्ग संघ लगायत संघसंस्थाले आवाज उठाएका थिए । दोषीमाथि कडा कारबाहि र पिडित राजकुमारको परिवारलाई उचित क्षतिपुर्तिको माग गर्दै परिवारले शव बुझेका थिएनन् । तर गत शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनमा दुई पक्षबीच भएको छलफलमा दोषीलाई कडा कारबाहि गरिने र पिडित परिवारलाई १० लाख क्षतिपुर्ति दिने सहमतिपछि परिवारले शव बुझेका हुन । मृतक राजकुमारको घर निर्माणका आवश्यक सामाग्री उपलब्ध गराउने, चेपाङ्गको छोरीको भरणपोषण तथा शिक्षदिक्षाका लागिसमेत निकुञ्जले ब्यवस्था गर्ने सहमति भएको छ । चेपाङ्गलाई गत साउन १ गते निकुञ्ज क्षेत्रमा माछा मार्न गएका भन्दै सेनाले निर्मम कुटपिट गरेका थिए । उनीसँगै कुटाइ खाएका अन्य ४ जना भने सामन्य उपचारपछि निको भएका थिए ।
स्रोतहरू खुलाइएका बाहेक ऐनापाटी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू ऐना मिडिया हाउस प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।