काठमाडौँ – सीमा विवादले तनावको सिर्जना भएपछि पहिलोपटक नेपाल र भारतबीच आउँदो हप्ता आधिकारिक तहमा छलफल हुने भएको छ। कालापानी, लिम्पियाधुरा, लिपुलेकलाई लिएर सीमा विवादले तनावको सिर्जना हुदै आए पछी छलफल हुने भएको हो ।
नेपालमा भारत सरकारको सहयोग वा सहकार्यमा सञ्चालन भएका परियोजनाहरुको मूल्यांकन गर्नका लागि आउँदो हप्ता दुई देशका अधिकारीबीच छलफलको तयारी भएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।
काठमाडौँमा हुने छलफलमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागीले गर्ने छन् भने भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतीय राजदूत वियन मोहन क्वात्राले गर्ने छन् ।
कोरोना भाइरसको महामारीका कारण सो बैठक भिडियो कन्फ्रेन्समार्फत हुने सम्भावना रहेको छ । औपचारिक रुपमा बैठकको मिति घोषणा नभए पनि अगस्त १८ अर्थात भदौ २ गते गर्ने तयारी रहेको स्रोतलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव भरतराज पौड्यालले देश सञ्चारसँग भने, ‘परियोजनाहरुको मूल्यांकन सम्बन्धमा द्विपक्षीय बैठक गर्ने बारे कुराकानी भइरहेको छ । तर सो बैठकबारे ठोस निर्णय भएको छैन । अहिले नै यहि मितिमा बैठक हुन्छ भन्ने अवस्था छैन ।’
भारतको सहयोगमा नेपालको तराई क्षेत्रमा सडक तथा रेल मार्ग निर्माण भइरहेको छ भने भूकम्पपछिको पुनर्निर्माण, प्रहरी प्रशिक्षण एकेडेमी, पोलिटेक्निक कलेज तथा पाइपलाइन निर्माणको काम पनि भइरहेको छ ।
परियोजनाहरुको मूल्यांकनका लागि सन् २०१६ मा गठन गरिएको संयुक्त समितिको बैठक पछिल्लो पटक सन् २०१९ को जुलाईमा भएको थियो ।