काठमाडौँ – आज बाट नेपालमा आन्तरिक उडान सुरु भएको छ। झण्डै ६ महिनापछि नेपालमा आन्तरिक उडान सुरु भएको हो । सोमबार बिहानदेखि आन्तरिक उडान सुरु भएको त्रिभूवन विमानस्थलले जनाएको छ ।
गएको चैत ११ गतेदेखि लकडाउन लागु भएसँगै नियमित उडान रोकिएको थियो । तर सरकारको निर्णयपछि सोमबार बिहानदेखि उडान सुरु भएको हो ।
सोमबार बिहान नियमित उडान तर्फ सबैभन्दा पहिले सात बजेर ४३ मिनेटमा १६ जना यात्रु लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौँबाट भोजपुरका लागि उडेको विमानस्थलले जनाएको छ। यस्तै चार्टर्ड उडान तर्फ ९ जना यात्रु लिएर समिट एयरको विमान काठमाडौँबाट लुक्लाका लागि उडेको हो ।
सरकारले आधा सिट क्षमतामा मात्रै विमान चलाउन भनेको थियो। एयरलायन्सहरुले त्यसको विरोध गरेका थिए। त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घुमाउरो पाराले पूर्ण सिट क्षमतामा विमान चलाउन स्वीकृति दिएको दाबी गरिन्छ ।
यसअघि अशोज १ गतेदेखि लामो तथा मध्यम दूरीका सवारी साधान भने आधा सिट क्षमतामा तोकिएको भन्दा ५० प्रतिशत बढी भाडा लिएर सञ्चालन भएको छ ।