अहिले नेपालका अभिनेत्रीहरु धमाधम युटुव च्यानल खोल्न थालेका छन् ।
खाली समय के गरी बिताउने ? अभिनेत्री स्वस्तिमा खड्कालाई आइडियाु फुर्यो, युट्युब च्यानल खोल्ने । युट्युब अकाउन्ट पहिल्यै थियो । भिडियो राखेकी थिइनन् । अरुले नै खिचेका आफ्ना फोटोसुटका केही भिडियो युट्युबमा अप्लोड गरिन् ।
लकडाउनबीच नै प्रश्नोउत्तर भिडियोले उनको युट्युब मनिटाइज भयो । स्वस्तिमा प्रश्नोउत्तर नै च्यानलको अफिसियल भिडियो रहेको बताउँछिन् । लकडाउनमा स्वस्तिमा मात्र होइन अन्य अभिनेत्रीहरु पनि युट्युबमा सक्रिय देखिए । प्रियंका कार्की, केकी अधिकारी, रिमा विश्वकर्मा, वर्षा राउत पनि लकडाउनबीच युट्युबमा व्यस्त देखिए । साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि चार दिनअघि मात्रै आफ्नो युट्युब च्यानल खोलेकी छिन् । लकडाउनकै समयमा युट्युब च्यानल खोल्नेमा केकी पनि पर्छिन् । बिहाइन्ड दि सिन (बिटिएस) अर्थात् पर्दापछाडिको दृश्य राख्ने उद्देश्यले स्वस्तिमाले युट्युब च्यानल खोलेकी हुन् । युट्युबका लागि भिडियो बनाउन धेरै समय खर्च हुने उनले अनुभव गरेकी छिन् । स्वस्तिमा भिडियो बनाउनुअघि कन्टेन्टबारे योजना बनाउँछिन् । घर नजिकैको स्टुडियोमा त्यहीकै एकजना भाइले भिडियो र सम्पादनको काम गरिदिन्छन् ।युट्युबबाट पैसा कमाउने सोच भन्दा पनि यो प्लेटफर्मलाई प्रयोग गर्न खोजेको उनी बताउँछिन् ।
यता लकडाउनको पहिलो एक महिना प्रियंका कार्की पनि खाली बसेरै बिताइन् । दोस्रो महिनाबाट भने युट्युबमा कुकिङ रेसीपी हेर्न थालिन् । त्यस्तै परिकार पकाएर परिवारलाई खुवाउन थालिन् । सबैले उनको परिकारको तारिफ गरे ।
त्यसपछि प्रियंकाले पनि युट्युबमा कुकिङ रेसिपी राख्ने सोचिन् । समयको सदुपयोग पनि हुने भयो ।लकडाउन लम्बिँदै गएपछि कसरी हुन्छ युट्युबलाई सक्रिय पारौं भन्ने भयो । अहिलेको समयमा यो नै प्रमुख बजारजस्तो लागेर युट्युब चलाएको हुँ,उनले सुनाइन् ।
यस्तै लकडाउनबीच रिमाले पनि युट्युबमा भिडियोहरु बनाइरहिन् । खासमा रिमाले सन् २०१६ मै युट्युब च्यानल खोलेकी हुन् । नेपाल आइडलुको वर्ल्ड टुरुका विभिन्न भिडियो सार्वजनिक गर्न युट्युबमा राख्थिन् उनी ।युट्युबप्रति उनको रुचि बढ्दै गएको छ । आफ्नो युट्युबका लागि उनी नयाँ टिम नै खडा गर्दैछिन् ।