अमेरिका । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिकका जो बाइडन दुवैले आफूले अग्रता लिइरहेको दाबी गरिरहेका छन्।
चुनावको अन्तिम परिणाम आउन बाँकी भए पनि दुवै पक्ष कानुनी लडाइँ लड्ने तयारीमा जुटेका छन्। इलेक्टोरल कलेजको संख्याका हिसाबले कैयौं महत्वपूर्ण राज्यको मतगणना बाँकी छ। तिनै राज्यले चुनावी नतिजा तय गर्नेछन्।
बिबिसीका अनुसार मिसिगन र विसकन्सिनमा बाइडेनले अग्रता लिइरहेका छन्। पेन्सिलभेनियाको नतिजा अझै आइसकेको छैन। यी तीनै राज्यले बाइडेनको जित सुनिश्चित गर्नेछन्।
उता ट्रम्पको चुनावी अभियानले भने नेभाडा, विसकन्सिन, जर्जिया, पेन्सिलभेनिया र मिसिगनमा पुनः मतगणना गर्नुपर्ने बताइरहेको छ। ती राज्यमा मतगणनाका क्रममा धाँधली भएको ट्रम्प पक्षको आरोप छ। नेभाडा र एरिजोनामा पनि बाइडेनको अग्रता छ। जर्जियामा मतगणना जारी छ। यहाँ दुवै उम्मेदवारबीचको मतान्तर कम भइरहेको बिबिसीले उल्लेख गरेको छ।
केही समयअघि पत्रकार सम्मेलन गर्दै राष्ट्रपति ट्रम्पले वैध मत गणना गर्ने हो भने आफूले चुनाव जित्ने दाबी गरेका छन्। उनले चुनावका विषयमा आफू अदालतसम्म पुगेको उल्लेख गर्दै चुनावमा भएको धाँधली सह्य नहुने बताए। उनले पोस्टल ब्यालेट विनाशकारी हुनसक्ने आफूले पहिल्यै बताएको पनि जनाएका छन्।
ट्रम्पले एरिजोनामा ८८ प्रतिशत मत गणना गर्दा आफूले अग्रता लिइरहेको दाबी गरेका छन्। यद्यपि त्यहाँ बाइडेनले अग्रता लिइरहेका छन्। उनले स्वच्छ चुनावका विषयमा आफूले सम्झौता गर्न नसक्ने पनि बताए।