तुलसीपुर । कुर्सीबाट लडेर दाङको तुलसीपुरमा पूर्व गाविस अध्यक्षको मृत्यु भएको छ । कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको हो ।
कुर्सीबाट लडेर टाउकोमा गम्भीर चोट लागेका तुलसीपुर उपमहानगरपालिका–११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरहवामा थप उपचार हुँदै गर्दा मृत्यु भएको हो । उनको टाउकोमा अत्यधिक रक्तस्राव भएको थियो । भण्डारी विगत लामो समयदेखि अस्वस्थ रहँदै आएको तुलसीपुर–११ का वडा सदस्य सुवास डाँगीले बताए ।
भण्डारी साविक उरहरी गाविसको अध्यक्षका साथै उरहरी गाउँ पञ्चायतको प्रधानपञ्चसमेत थिए । उनले करिब दुई दशक सत्तामा रहेर काम गरेको डाँगीले बताए ।