काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग जाने भएका छन् ।
बिहान ११ बजे ओली आयोग जाने तयारीमा रहेको सचिवालयले जानकारी दिएकाे छ ।
प्रतिनिधि सभा विघटनपछि नेकपा प्रचण्ड-माधव नेपाल पक्षले बहुमत केन्द्रीय सदस्यको आधारमा पार्टीको आधिकारिकता दिन निर्वाचन आयोगमा माग गरेका छन् ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन् ।
संसद विघटन लगत्तै नेकपा विभाजित भएको थियो । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्कोको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका छन् ।
बहुमत केन्द्रीय सदस्यहरु आफूतिर रहेको दाबी गर्दै आएको प्रचण्ड–माधव पक्षले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ । ओली समूहले पनि प्रचण्ड–माधव पक्षका नेताहरुलाई हटाउँदै संगठन पुनर्गठन गर्दै आएको छ ।