काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओलीले आमसभा गर्न भाडामा मान्छे ल्याएको टिप्पणी गरेका छन् । भ्याडामा मान्छे ल्याउँदा पनि सभा सानो भएपछि अहिले ओली क्याम्पमा निराशा छाएको पनि नेपालले टिप्पणी गरे ।
बुधबार काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित सभामा बोल्दै नेपालले भने, ‘सरकारी रकम खर्च गर्दाखेरि पनि, सारा भ्रष्टाचारको रकम खर्च गर्दा पनि, मान्छेलाई भाडामा ल्याउँदा पनि विचराहरुको सभा यति सानो भए छ कि सिंगै ओली समूह निराश भएको छ ।’
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको छ । विभाजित नेकपाको एउटा खेमाको नेतृत्व प्रधानमन्त्री ओलीले गरिरहेका छन् भने अर्को खेमाको नेतृत्व प्रचण्ड र नेपालले गरिरहेका छन् ।
प्रचण्ड-नेपाल नेतृत्वको खेमा प्रतिनिधि सभा विघटनविरुद्ध देशव्यापी आन्दोलनमा छ । प्रचण्ड नेपाल समूहले माघ महिनामा मात्रै प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौंमा दोस्रो सभा गर्दै छ । प्रचण्ड-नेपाल समूहले काठमाडौंमा नै माघ ९ गते र पुस १४ गते आमसभा गरेको थियो ।
प्रचण्ड-नेपाल समूहले माघ ९ गतेको आमसभाप्रति टिप्पणी गर्दै प्रधानमन्त्री ओलीलाई त्यसलाई केही सदस्यको भेला मात्रै भनेका थिए । प्रधानमन्त्री ओलीले आमसभा कस्तो हुन्छ भनेर माघ २३ गते काठमाडौंमा देखाउने बताएका थिए ।
प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको समूहले काठमाडौंको नारायणहिटी दरबार अगाडि आयोजना गरेको सभाप्रति टिप्पणी गर्दै नेपालले भाडामा मान्छे ल्याउँदा पनि सानो भएको बताएका हुन् ।