काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले चुनावी कार्यतालिका नल्याएकोले चुनाव हुनेमा आशंका पैदा भएको बताएका छन् ।
भैरहवामा आज कांग्रेसले आयोजना गरेको सभामा देउवाले निर्वाचन आयोगले बदमासी गर्न सक्ने आशंका व्यक्त गरे ।
चुनाव नजिएको भएपनि किन आयोगले किन निर्वाचन कार्यक्रम सार्वजनिक नगरेको भन्दै देउवाले प्रश्न गरे ।
‘निर्वाचन आयोगले किन अहिलेसम्म निर्वाचन कार्यक्रम बाहिर निकाल्दैन? चुनाव नगराउने हो भने भन्नुपर्यो चुनाव गराउँदिनँ भनेर। चुनाव गराउने हो भने निर्वाचनको प्रक्रिया सुरू गरेकै छैन। कुनै पनि संसदको विघटन भएको छ महिनाभित्र चुनाव गरिसक्नुपर्छ,’ देउवाले भने ।
उनले जेठभित्र आयोगले चुनाव गराउनुपर्ने बताए । ‘जेठ अन्तिमसम्म ओलीले चुनाव गराउनुपर्छ । निर्वाचन आयोगको पनि त्यही काम हो । आयोग संविधान बाहिर जान सक्छ? उसलाई मतलब नै छैन ,’ उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव गर्छु भने पनि आयोगले चुनाव गर्छु भनेर नभनेको देउवाको भनाइ छ ।
‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ। किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन?,’ उनले भने, ‘सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन? अदालतको निर्णय पर्खने काम आयोगको होइन । अदालतले चुनाव हुँदैन भन्यो भने रोके भइगो के विग्रन्छ । आयोगले छ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भन्नुपर्यो।’