काठमाडौं । गोरखाको बारपाकमा एउटै परिवारका ३ जना मृत फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका-१ बारपकमा १ जना बालिका, १ जना बृद्ध र १ जना महिला गरी ३ जना मृत फेला परेका हुन् ।
मृत भेटिनेमा ८४ वर्षीय बृद्ध डिलबहादुर गुरुङ, २१ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया बालिका उषा गुरुङ छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्र गुरुङका अनुसार मृत भेटिएका तीनै जनाको मुखबाट फिँज निस्किएको छ ।
आइतबार राति ‘राम्रैसँग सुतेका’ उनीहरु बिहान अबेरसम्म पनि नउठेपछि छिमेकीहरु घरमा हेर्न गएका थिए । बाहिरबाट बोलाउँदा समेत नआएपछि झ्याबाट हेर्दा अस्वभाविक अवस्था देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयको खबर पछि बारपाक प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थल पुगेको छ । प्रहरीको टोलीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान गरिरहेको एसपी गुरुङले जानकारी दिए ।