लन्डन। रुसले युक्रेनमा आक्रमण थालेको तीन हप्ता पुगेको छ।
रुसी सेनाहरु युक्रेनमा घुस्न थालेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा रहेका विदेशी नागरिकलाई पनि आफ्नो सेनामा भर्ती गर्ने व्यवस्था मिलाएका थिए।
सो क्रममा एक नेपाली नागरिकले आफूलाई दुःखका बेला युक्रेनले खान, बस्न र जागिर दिएकाले युक्रेनलाई दुःख परेका बेला आफूले पनि युक्रेनलाई सहयोग गर्ने बताउँदै युक्रेनी सेनामा भर्ती भए। उनको नाम प्रताप बस्नेत हो।
सो क्रममा बेलायती नागरिक बेन स्पान पनि युक्रेनी सेनामा आवद्ध हुन युक्रेन पुगेका थिए। डेलीमेलका अनुसार ३६ वर्षका उनी पाँच दिनसम्म युक्रेनमा बसे।
उनीसँग अन्य चार पूर्व बेलायती सेना पनि युक्रेन गएका थिए। तर जब पाँच दिन युक्रेनमा बिताए, रुसी सेनासँग लड्नु आत्महत्या सरह रहेको विषय बोध गर्दै उनी बेलायत नै फर्किएका छन्।
उनलाई श्रीमती र छोराले पनि घर फर्कन दबाब दिएका थिए। रुसी सेनाले हवाई कारवाही गरेको गर्यै गरेपछि बेन आफू रुसी सेनाको अगाडि टिक्न नसक्ने निष्कर्ष निकालेका हुन्।
उनले यसअघि स्काई न्युजसँग युक्रेनी सेनामा भर्ती हुनलाग्दा पश्चाताप नहुने बताएका थिए। यतिबेला उनी रुसी सेना छल्दै बेलायत नै भागिसकेका छन्।