काठमाडौं । नेपालमा कोरोनाको संक्रमण रोक्न सरकारले संक्रमण फैलिएका देशको अनअराइभल भिसा बन्द गर्ने निर्णय गरेको छ ।
अहिलेको निर्णय तत्कालका लागि भएको सरकारले जनाएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बिहीबार बसेको बैठकले सङ्क्रमण फैलिएका थप देशको अनअराइभल भिसा वैशाख १८ गतेसम्म रोक्ने निर्णय गरेको छ । चीनबाट फैलिएर युरोपियन र केही मध्यपूर्वका देशमा समेत कोभिड–१९को सङ्क्रमण बढेकाले थप देशको भिसा रोक्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएको राससले जनाएको छ ।
“शुरुमा पाँच मुलुकबाट आउने भिसा रोक्ने भनेकोमा अझै केही थप देशहरुको भिसा रोक्ने निर्णय भएको छ,” कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय सुनाउँदै प्रवक्ता डा. खतिवडाले भने ।
उनले हवाई उडानमा भने कटौती नगरिएको जानकारी दिए ।
भसा रोकिएपछि स्वतः कटौती हुने उनको टिप्पणी थियो ।
यसअघि सरकारले चीन, इरान, इटाली, फ्रान्स जर्मनी, स्पेन, दक्षिण कोरिया र जापानको अन अराइभल भिसामा रोक लगाएको थियो ।
भारतले आफ्नो देशको नाकामा नियमन गर्दै खास नाकाबाट आवागमन खोल्ने निर्णय गरेकाले नेपालतर्फबाट पनि त्यही नाका प्रयोग गरिने भएको छ ।
त्यसको आवश्यक प्रक्रिया मिलाउन गृह र परराष्ट्र मन्त्रालयलाई जिम्मा दिइएको उनले जानकारी दिए ।
पूर्वतयारी स्वरुप मेडिकल कलेजका स्वास्थ्यकर्मी, रेडक्रस, स्काउट तथा मेडिकल क्षेत्रका सामाजिक संस्थाका प्रतिनिधिलाई स्वयंसेवकको रुपमा परिचान गर्ने गरी तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ ।
उनले सरकारकातर्फबाट सार्वजनिक समारोह, भेला कम गर्ने र सामाजिक रुपमा विवाह भोजहरु कम गरी आफैँ पनि सतर्कता अपनाउन सार्वजनिक अपिल गर्ने निर्णय गरेको जानकारी दिए । राससको सहयोगमा