राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनावको मुखमा अति समस्यामा पार्ने देखिएको पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारको पुस्तक प्रकाशन हुनबाट रोक्ने अन्तिम प्रयासमा ट्रम्प प्रशासन लागि परेको छ ।
पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको पुस्तकमा अति गोप्य वर्गिकृत जानकारी रहेको भन्दै ट्रम्प प्रशासनले पुस्तक प्रकाशन रोक्नका लागि मुद्दा दायर गर्नेसम्मका प्रयास गरेको छ ।
बोल्टनले पुस्तकमा ट्रम्पमाथि लगाएका धेरै आरोप मध्ये यो वर्ष नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा आफूलाई निर्वाचित गराउनका लागि चीनका राष्ट्रपति सीसँग सहयोग मागेको भन्ने एक हो ।
न्याय विभागले राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर सो पुस्तक प्रकाशन तत्काल रोक्न माग गरेर मुद्दा दायर गरेको छ । संविधानिक विज्ञहरुले ट्रम्प प्रशासनको प्रयास सफल हुने सम्भावना नरहेको बताएका छन् । यस्तै अमेरिकी सञ्चारमाध्यमहरुले बोल्टनको पुस्तकको केही अंशहरुमा रहेका कुरा प्रकाशित गरिसकेका छन् ।
बोल्टनले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा कार्यरत रहँदाको अनुभव समेटेर ‘द रुम ह्वेयर इट ह्यापेन्ड’ नाम गरेको लेखेका हुन् । उनको सो पुस्तक जुन २३ अर्थात आउँदो मंगलबार प्रकाशित हुँदैछ ।
गएको जनवरीमा राष्ट्रपति कार्यालयले बोल्टनको पुस्तकमा अति गोप्य जानकारीको विस्तृतमा उल्लेख रहेको भन्दै सो कुरा पुस्तकबाट हटाइनु पर्ने बताएको थियो । तर बोल्टनले सो कुरा अस्वीकार गरेका थिए ।
बोल्टनको पुस्तकमा ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर त्यहाँका राष्ट्रपतिलाई जो बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार अभियोगमा छानबिन गर्न दबाब दिएको कुरा विस्तृतमा उल्लेख गरहेको पनि दाबी गरिन्छ ।
सोही कार्यका लागि ट्रम्पले सदनमा महाअभियोगको सामना गर्नु परेको थियो । महाअभियोगको अनुसन्धान युक्रेनबाट अरु तर्फ पनि गएको भए नतिजा अर्कै आउन सक्ने बोल्टनको भनाई छ । यसको अर्थ उनले चीनसँग ट्रम्पले प्राप्त गर्न खोजेको सहयोग तर्फ इंगिद गरेका हुन् ।
बोल्टन सन् २०१८ को अप्रिलमा ह्वाइट हाउसमा सुरक्षा सल्लाहकारका रुपमा जिम्मेवारी सम्हालेका थिए । उनी सन् २०१९ को सेप्टेम्बरमा जिम्मेवारीबाट बाहिरिएका थिए ।