मकवानपुर । राक्सिराङ गाउपालिका वडा नं ३ ले अगामी आर्थिक बर्षमा वडाको पुर्वाधार बिकासलाई जोड दिएको छ । गाउपालिकाबाट सिलिङको रुपमा प्राप्त हुने बजेटलाई शनिबार एक भेलाको आयोजना गरि वडाका बिभिन्न टोल बिकास संस्थाहरुको समन्वयमा बाँडफाँड गरिएको हो । वडा अध्यक्ष बाबुलाल स्याङतानका अनुसार वडाभित्र रहेका ७ टोल बिकास संस्था समेटिने गरि बजेट बाडिएको छ । हरेक टोलबिकास संस्थाभित्र पर्ने गरि एक योजनाका लागि ५ लाख बजेट दिइएको छ । त्यसबाहेक बिभिन्न टुक्रे योजनाका लागि सबैको सुझावअनुसार बजेट बिनियोजन गरिएको स्याङतानले बताए । उनका अनुसार वडामा विभिन्न सडकहरुको स्तरोन्नति गर्ने तथा नयाँ ट्रयाक खोल्न प्रथामिकता दिइएको छ । त्यसबाहेक खानेपानी, सिचाई, मैदान निर्माण, सिढि निर्माण, विद्युत ट्रान्सफर्मरलगायतका लागि बजेट छुट्याइएको छ । वडा अध्यक्ष स्याङतानले वडाको चौतर्फी बिकासका लागि स्थानीयको भुमिका महत्वपुर्ण रहने भएकाले योजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे । थप बिकास र अन्य ठुला योजनाका लागि गाउँपालिका, प्रदेश तथा केन्द्र सरकारसँग पहल गरिने उनको भनाई छ । भेलामा जिल्ला समन्वय समितिका सदस्य सानुकान्छि स्याङतान, नेकपाका वडा कमिटि अध्यक्ष उत्तम वाइबा, नेपाली कांग्रेसका वडा सभापति प्रकास रंगालीलगायतले योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिन आग्रह गरे । राक्सिराङ गाउपालिकाले आगामी आर्थिक वर्षको लागि सिलिङको रुपमा वडालाई ४५ लाख बजेट उपलब्ध गराएको थियो । बिभिन्न योजना तथा बजेट पारितका लागि गाउपालिकाको गाउ सभाको बैठक असार १६ गते बस्दैछ । गाउपालिकाले अगामी आर्थिक बर्षको लागि ५१ करोडको बजेट सार्वजनि गरेको छ ।