काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा चार घण्टा मन माझामाझ भएको छ । तर, पनि ठोस निष्कर्ष निस्कन नसकेको बालुवाटार स्रोतले जानकारी दियो ।
“दुई अध्यक्षले तिक्तता विस्तारपूर्वक राख्ने काम भयो । तर, ठोस निष्कर्ष निस्कन सकेको छैन । आजको बैठकले सम्बन्धलाई हार्दिकतामा बदल्ने कोसिस गरेको छ,” प्रधानमन्त्री ओलीनिकट स्रोतले भन्यो ।
छलफलमा दुई अध्यक्षका अतिरिक्त महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी थिए । उनीहरू दुवैजना जेठ २ गते (पार्टी एकताको अघिल्लो दिन) को गोप्य सहमतिका साक्षी पनि हुन् ।
उनीहरूले जेठ दुई गतेकै सहमतिमा फर्काउने र एकतालाई दुर्घटनामा जान नदिन प्रयत्न गरे पनि आजको बैठक निष्कर्षमा पुग्न भने सकेन ।
“भोलि स्थायी कमिटी बैठकभन्दा अगाडि पनि दुई अध्यक्षबीच छलफल हुनेगरी बैठकबाट उठ्यौं । दुवै अध्यक्षले आफूनिकट नेतासँग परामर्श गर्ने गरी बैठक सकिएको हो,” एक नेताले भने ।
यसैबीच नेकपाका दोस्रो तहका नेताहरूले पनि सक्रियता बढाएका छन् । घनश्याम भुसालले बिहान १० जना नेतालाई बोलाएर छलफल पनि गरेका थिए ।
जनार्दन शर्माले जेठ २ गतेकै सहमतिमा फर्कनुको विकल्प नभएको तर्क गरेका थिए । एकताको आधार नै त्यही सहमति भएकाले त्यसको पालना भए नेकपा दुर्घटनाबाट बच्ने उनको भनाइ थियो ।