एजेन्सी । युरोपेली मुलुक पोल्यान्डमा राष्ट्रपतिमा अन्दर्जेज डुडा पुन: निर्वाचित भएका छन् ।
उनले आफ्ना प्रतिस्पर्धी राफल ट्रजास्कोवस्कीलाई झिनो मतान्तरले पराजित गरेका हुन् । राष्ट्रिय इलेक्ट्रोल कमिसनका अनुसार डुडाले ५१ दशमलव २ प्रतिशत मत प्राप्त गरेका छन् ।
सन् १९८९ मा कम्युनिज्मको अन्त्यसँगै यो मतान्तर अहिलेसम्मकै कम रहेको जनाइएको छ । युरोपियन युनियनसँग बिग्रिएको सम्बन्ध सुधार नै निर्वाचनको मुख्य एजेन्डा बनेको थियो । डुडा सत्तारुढ दल नेसनालिस्ट ल एन्ड जस्टिस पार्टीबाट पुन: निर्वाचित भएका हुन् भने राफल सामाजिक उदारवादी व्यक्ति र वारसाका मेयरसमेत हुन् ।
डुडा निर्वाचित भएसँगै न्यायलयको विधान पुनर्संरचना हुने र विपक्षीलाई पेल्ने र गेहरुको अधिकार फेरि वञ्चित हुने अपेक्षा गरिएको छ ।
चुनावी अभियानका क्रममा उनले एलजीबीटीका अधिकारहरु कम्युनिज्मभन्दा पनि बढी घातक हुने अभिव्यक्ति दिएपछि निकै आलोचित बनेका थिए । नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भएको हो । डुडालाई सत्तारुढ दल र सरकारले थप पाँच वर्षका लागि राष्ट्रपति बनाउन चाहेका थिए ।
अर्का प्रतिस्पर्धी राफललाई भने प्रमुख प्रतिपक्षी दल सिभिक प्लेटफर्म पार्टीले समर्थन जनाएको थियो । जुन पार्टी यसअघि सन् २००७ देखि २०१५ सम्म सत्तामा रहेको थियो । -बीबीसी