काठमाडौं । सिन्धुपाल्चोक लिदीमा पहिरो खस्ने क्रम नरोकिएपछि बेपत्ताको खोजी गर्न कठिनाइ भएको स्थानीयहरूले बताएका छन् । गत शुक्रबार बिहानै पहिरो खस्दा लिदीका २० वटाभन्दा बढी घर पहिरोमा पुरिएको थियो ।
सोहि पहिरोमा ३८ जना बेपत्ता बनेका थिए । बेपत्ता मध्ये हालसम्म १८ जनाको शव फेला परेको स्थानीय ङेमा दोङ तामाङले जानकारी दिएका छन् । उनकाअनुसार बस्तीभन्दा तल्लो भागबाट पहिरो चल्न सुरु भएकाले खोजीकार्यमा जुट्न कठिनाइ भइरहेको छ ।
भूकम्पपीडित कार्डको आधारमा त्यस बस्तीमा १७२ घर रहेको ङेमाले बताए । शुक्रबारको पहिरोपछि सबै घर जोखिममा रहेको र बस्ती सार्नुको विकल्प नरहेको उनको भनाइ छ । अहिले जिल्ला विपद्ले पठाएको ४० वटा त्रिपालमा बस्तीका मानिसहरूलाई व्यवस्थापन गरिएपछि वर्षापछि कहाँ बस्ने टुङ्गो नभएको उनले बताए ।