काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छन्।
आयोजक संस्था हिडेन ट्रेजरले नेपाल शनिवार काठमाडौंको पार्क भिलेज होटलमा आयोजना गरेको ग्रान्ड फिनालेमा उपाधी विजेता घोषणा गरिएको हो।
उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन्।
समाजशास्त्रमा स्नातकोत्तर काठमाडौंकी २२ बर्षीया श्रेष्ठ पेशाले किन्डर गार्डेनकी शिक्षिका समेत हुन्।
अन्तिम राउन्डका ६ प्रतिस्पर्धालाई यस्तो प्रश्न गरिएको थियो ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ?’
सो प्रश्नमा नम्रताले आफ्नो आमालाई सम्झँदै नेपाली महिलाहरु सकारात्मक सोचले अघि बढ्ने गरेको भन्दै उनले त्यसकै आधारमा संसारलाई जिन्त सकिने बताएकी थिइन्।
मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छन।
मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुनेछिन्।
यसैगरी प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौँकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनल काठमाडौँकी २४ वर्षीया सिमल कनौजियाले पाएकी छन। उनीहरु तीनै जनाले नगद रु दुई लाख ५० हजार पाएका छन।
गत अप्रिलमा हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण लकडाउन भएपछि रोकिएको थियो।
सरकारको मापदण्डअनुरूप सुरक्षाविधि अपनाएर आयोजक संस्थाले प्रतियोगिता सम्पन्न गरेको छ।
यस वर्ष देशभरका १ सय ५० युवतीहरू प्रतियोगिताका लागि प्रत्यक्ष सहभागी भएका थिए, जसमध्ये १८ देखि २६ उमेर समूहका २१ जना अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका थिए। यस पटकको प्रतियोगिताका लागि काठमाडौंबाहिर पोखरा, चितवन र भैरहवासहित आठ सहरमा अडिसन लिइएको थियो।
नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता शुरु भएको थियो । नेपालको पहिलो मिस नेपाल रुवी राणा हुन। आज गरिएको प्रतियोगिता २५औँ हो। सन् १९९४ देखि लगातार हुँदै आएको प्रतियोगिता सन् २००१, सन् २००६ र सन् २००८ मा विविध कारणले हुनसकेको थिएन। हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले कोरोना भाइरसका कारणले प्रतियोगिता केही ढिला हुन गएको बताए।
उनले तीन हप्ताको भर्चुअल तालीम र दुई हप्ताको भौतिक उपस्थितिमा प्रतियोगीलाई तालीम प्रदान गरिएको जानकारी दिए। प्रतियोगितामा २५० जनाले आवेदन दिए पनि २१ जनालाई मात्र छनोट गरिएको थियो।
यस्तै प्रतियोगितामा मिस टुरिज्मको उपाधि रिया श्रेष्ठ, मिस फिटनेस सुभाङ्गी खत्री, मिस फोटोजेनेटिक आस्टिका श्रेष्ठ, मिस हेल्दी निहा सरकारलगायत ११ प्रकारका उपाधिसमेत दिइएको थियो। ती पुरस्कारको राशि रु २५ हजार रहेको छ।