काठमाडौं । प्रहरीले काठमाडौंको कोटेश्वरबाट एउटा पेस्तोल बरामद गरेको छ । बाटोमा हिँडिरहेका सर्वसाधारणले दिएको सूचनाका आधारमा प्रहरीले कोटेश्वर चोक नजिकबाट पेस्तोल बरामद गरेको हो ।
बाटो (फूटपाथ)मा हिँडिरहेका व्यक्तिले पेस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले पेस्तोल बरामद गरेको हो ।
एक राउण्ड गोल समेत रहेको पेस्तोल कसको हो भन्ने विषय भने खुलेको छैन । प्रहरीका अनुसार एक युवकले कोटेश्वरमा पेस्तोल देखाएर आफूलाई लुटपाट गर्न खोजिएको प्रहरीलाई बताएका छन् ।
आफूलाई पेस्तोल देखाएर लुट्न खोजिएको भन्ने युवक हुन् सिन्धुलीको तीनपाटन गाउँपालिका घर भएका २५ वर्षीय युवराज आले मगर ।
प्रहरीका अनुसार युवराजले पेस्तोल देखाएर आफ्नो मोबाइल खोस्न खोजिएको तर प्रतिवादका क्रममा हतियार झरेको बयान दिएका छन् ।
प्रहरीले भने उनको बयानलाई पुष्टि गर्ने अन्य आधारको खोजी भइरहेको जानकारी दिएको छ ।
प्रहरीले हतियार युवराजकै भएको हुनसक्ने आशंकामा उनीसँग सोधपुछ गरिरहेको छ । अहिले उनी प्रहरीकै सम्पर्कमा रहेका जनाइएको छ ।
तस्वीर– प्रतिकात्मक