डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक महिलाको नागरिकता प्रतिलिपिमा पुरुषको फोटो टाँसेको पाइएको छ।
प्रशासन कार्यालयले जिल्लाको अमरगढी नगरपालिका–१ भनेर ठेगाना उल्लेख गरिएको देवकी धामीको नागरिकतामा एक पुरुषको फोटो राखेर त्रुटि गरेको हो।
धामीको नागरिकतामा अजयमेरु गाउँपालिका–१ समैजीका राजबहादुर भण्डारीको तस्बिर टाँसिएको छ । उक्त नागरिकताको प्रतिलिपिमा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले हस्ताक्षर गरेका छन्।
अजयमेरुका भण्डारीको नाम ठेगाना उल्लेख भएको नागरिकतामा धामीको तस्बिर टाँसेर उनलाई दिएको हुनसक्ने आशंका गरिएको छ। उक्त विषयमा जिल्ला प्रशासनले त्रुटि भएको हुनसक्ने भन्दै सम्बन्धित व्यक्तिलाई बोलाएको छ।