काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली जनतालाई पुग्नेगरि खोप आपूर्तिको प्रवन्ध गरिसकिएको बताएका छन् । देशबासीको नाममा सम्बोधन गर्दै ओलीले एक करोड ५० लाख डोज खोप सहुलीयत मूल्यमा किन्ने प्रक्रिया जारी रहेको बताए ।
सम्बोधन गर्दै ओलीले भने- ‘खोपको लागि सबै प्रवन्ध भइसकेको छ र दक्षिण एशियामा भारतपछि नेपाल दोस्रो हो । तर भरेदेखि पहिलेनै लगाइएका खोपको फोटो राखेर हामीले गर्यौं भन्न थाल्नेछन् तर म प्रचार होइन काममा विश्वास गर्छु, जनतालाई खोपको प्रबन्ध गरेर जाँदैछु ।’
बालवालिकालाई लगाइने फाइजर ६० लाख डोज खोप पनि खरिद प्रक्रियामा रहेको उनको भनाई छ । भारतबाट १० लाख डोज, चीनबाट अनुदानसहित ५८ लाख डोज खोप प्राप्त भएको उनले बताए ।
त्यस्तै अमेरिकबाट उपहारस्वरुप १५ लाख डोज र जापानबाट १६ लाख डोज खोप प्राप्त भएको भन्दै कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार डोज आइसकेको र ३ लाख ५० हजार आउने क्रममा रहेको ओलीले बताए ।
यस्तै आफ्नो नेतृत्वको सरकारले बन्दोबस्त गरेको खोपलाई नयाँ सरकारले आफूले ल्याएको भनेर प्रचार गर्न सक्ने ओलीको भनाई छ । उनले भने, ‘मलाई थाहा छ । भरे वा भोलि विहानबाट ल्याइदिएको खोप, लगाइरहेको खोप लगाएको फोटो खिचेर अघिल्लो सरकार गयो, हामीले खोप दिन थाल्यौं भनेर तमासा शुरु हुनेछ ।’ ओलीले अघि भने, ‘मानौं, चट गरेर आजै ल्याएका हुन् कि जस्तो गरेर प्रचार गर्नेछन् । तर मलाई प्रचारको कम्पिटिसन गर्नु छैन ।