नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ/नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्रीसमेत पठाइसकिएको छ । जिम्मेवारी तोकेका मतदान अधिकृतले आफ्ना वडामा आवश्यक तयारीअनुसार मतदान गराउने प्रक्रिया सुरु भएको छ ।
क्रियाशील सदस्यता सूची प्राप्त भएका र आवश्यक तयारी पूरा गरिसकेका सबै वडामा सम्भव भएसम्म आज नै अधिवेशन हुने र बाँकी नाम छुटेका तथा सूची मिलाउनुपर्ने वडामा समितिको स्वीकृती लिएर एक÷दुई दिनपछि अधिवेशन गर्न सकिने बताइएको छ ।