काठमाडौँ । केन्द्रीय तथ्याङक विभागले यसपटक जनसंख्या तीन करोड पाँच लाखको हाराहारीमा पुग्ने अनुमान गरेको छ । मृत्युदरभन्दा जन्मदर बढी भएकाले १० वर्षको अवधिमा नेपालको जनसंख्या ४० लाख बढेर तीन करोड पाँच लाख पुग्ने अनुमान तथ्यांक विभागले गरेको हो । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या दुई करोड ६५ लाख थियो ।
तथ्यांक विभागका कम्पयुटर अधिकृत डोल नारायण श्रेष्ठका अनुसार सोही प्रक्षेपणलाई आधार मानेर बुधबारबाट राष्ट्रिय जनगणना सुरु भएको छ । ’२०६८ को जनगणनामा देखिएको जन्मदर र मृत्युदर कायमै रहेको विभागको बुझाइ छ’, श्रेष्ठले भने, सो जन्मदर र मृत्युदर कायम रहेको खण्डमा नेपालीको जनसंख्या अब ४० लाख बढेर तीन करोड पाँच लाख हाराहारिमा पुग्ने देखिन्छ ।
१२औँ राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारदेखि घर तथा घरपरिवार सूचीकरण जारी छ । यसअघि गत २५ जेठदेखि जनगणना गर्ने कार्यक्रम तय गरिएकोमा कोरोना महामारीका कारण जनगणना स्थगित गरिएको थियो।