काठमाडौं । इनफ इज इनफका सत्याग्रहीहरुले आज बिहान अनशन तोडेका छन् । स्वास्थ्य मन्त्रालयसँग हिजो (सोमबार) भएको १२ बुँदे सहमतिपछि अनशत तोडेको इनफ इज इनफले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।
इनफ इज इनफकी सब्रिना डंगोलका अनुसार अनशनरत ई: र पुकार बमले १२औं दिनमा अनशन तोडेका हुन् । स्वास्थ्य मन्त्रालय र इनफ इज इनफबीच हिजो (सोमबार) मन्त्रालयमा वार्ता भएको थियो । इनफ इज इनफको वार्ता टोलीमा नयनतारा गुरुङ कक्षपति, आलोक सुवेदी, सञ्जय अधिकारी, प्रितम सुवेदी र ब्रबिमकुमार सहभागी थिए । मध्यस्तकर्ताका रूपमा डा. विन्ज्वाला श्रेष्ठ थिइन् ।
कोभिड १९ सिर्जित महाव्याधिको सबल र सक्षम व्यवस्थापनको निमित्त सरकार तथा सम्बन्धित पक्षलाई दबाब दिन झन्डै एक महिनाअघि फेसबुक ग्रुपका रुपमा इनफ इज इनफ अभियानको आरम्भ भएको हो । इनफ इज इनफले काठमाडौंको बालुवाटार, भाटभटेनी, माइतीघर, सहिदगेटलगायत देशैभरका सयभन्दा धेरै स्थानमा भौतिक दूरी कायम गर्दै प्रदर्शन गरेको थियो ।