काठमाडौँ – विराटनगरमा जन्मिएकी कलाकार तथा निर्देशक दीपाश्री निरौलाले जन्मदिनको अवसरमा फेसबुकमा दर्शकको लागि भिडियो सन्देश पोस्ट गरेकी छिन । कलाकार तथा निर्देशक दीपाश्री निरौला आजबाट ४६ वर्षमा प्रवेश गरेकी छिन ।
निरौलाले लेखेकी छन्, ‘धेरै दिन देखि म तपाईँहरुसँग टाढा थिएँ, त्यसैले केही मनका कुरा गर्न मन लाग्यो र एउटा भिडियो बनाएकी छु, आज गते पनि ७, तपाईहरुसँग ७ मिनेट मागे है !’
भिडियोमा आउनुको कारण सुनाउँदै उनलले आफू केही पुराना र केही नयाँ कुरा गर्न मन लागेर आएको बताएकी छन्। ‘हुन त पछिल्ला कुरा नगरेको भए पनि हुन्थ्यो। तर पछिल्ला केही घटनाले मलाई के अनुभूत गरायो भने–समस्याबाट भाग्नु भन्दा समस्या व्यवस्थापन गर्नु ठूलो हो।’ उनले भनिन्, ‘३० वर्षको करियरमा आधा समय त मेरो पीडादायी नै भयो, तर जब २०६० सालमा तितोसत्य आयो त्यसपछि मैले पछाडि फर्केर हेर्नु परेन।’
दीपाले तितोसत्यको ६०० भाग, ६–७ वटा चलचित्र, छक्का पञ्जा शृङ्खलालाई दर्शकले दिएको मायाले आफू सफल भएको भन्दै दर्शकलाई धन्यवाद दिएकी छिन । तर उनले काममा सफल भएपनि व्यक्तित्व विकासमा आफ्नो अझै कमजोरी रहेको महशुस भएको बताइन्।
मिडियामा कसरी प्रस्तुत हुने, कसरी सरल हुने, मिडियामा बोल्दा चलाखिपूर्ण तरिकाले कसरी उत्तर दिने भन्ने कुरामा सिक्नु पर्ने आवश्यक रहेको बताइन्।
यस घटनाले आफूलाई पाठ सिकाएको पनि बताएकी छन्।
केही भावुक हुँदै उनले भनिन्, ‘गाली हामीसँग टाँसिएर आएको हुने रहेछ’ उनले भनिन्, ‘मेरो कारणले दीपकजीले गाली खानु पर्यो, टिममाथि आक्रमण भयो।’ उनले आफूलाई आत्मग्लानी भएको बताएकी छन्।
उनले प्रण गर्दै भनिन्, ‘अबदेखि गल्ती दोहोर्याउदिनँ, व्यक्तित्व विकासमा पनि समय खर्चिन्छु।’ अन्त्यमा उनले राजेश हमालको फ्यानलाई भनिन्, ‘मेरो अभिव्यक्तिले तपाइँकाे मन दुखेको छ भने मलाई आफ्नै दिदीबहिनी सम्झेर माफ गरिदिनु होला।
नमस्कार!आज भाद्र ७ गते , मेरो जन्मदिन!धेरै दिन देखि तपाइहरू बाट अलि टाढा थिएत्यसैले केहि मनका कुरा गर्न मन लाग्यो र एउटा भिडियो बनाएकि छू !आज गते पनि ७ ,तपाइहरू संग पनि सातै मिनेट मागे है?
Gepostet von Deepa Shree Niraula am Samstag, 22. August 2020