मनाङ । मौसममा केही सुधार आएपछि शुक्रबार (आज) मनाङका विभिन्न स्थानबाट १ सय १८ जनाको उद्दार गरिएको छ ।
दुई वटा हेलिकप्टरबाट यहाँका सबै क्षेत्रबाट ती पीडितहरुको उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।
प्र.जि.अ. लामिछानेका अनुसार नार्पाभूमि गाउँपालिकाको फू गाउँबाट ५६ जना, नासों गाउँपालिकाबाट ५५ र ओडारबाट १० जनाको उद्दार गरिएको छ ।
नासोंका बाढी पहिरो पीडितलाई मनाङको सदरमुकाम चामेमा स्थानान्तरण गरिएको उनले बताए । फुगाउँका १६ जनालाई दानाक्युमा व्यवस्थापन गरिएको छ भने अन्य पीडितलाई फू गाउँकै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए ।
मनाङका विभिन्न क्षेत्रका बाढी पहिरो पीडितलाई चामेमा व्यवस्थापन कार्य भइरहेको लामिछानेले बताए।
मनाङका चार गाउँपालिकाका विभिन्न गाउँ वा स्थानीय पालिकाबीचको सम्पर्क र आवतजावत पूर्णरुपमा अवरुद्ध छ । ‘‘अन्य क्षेत्रमा पनि बाढी पहिरोमा परेका पीडितको उद्दार गर्ने कार्य भइरहेको छ, कहीँ कतै सम्पर्कमा नआएका छन् कि भनेर हेलिकप्टरबाट खोजी कार्य भइरहेको छ,’’ प्रजिअ लामिछानेले भने ।
गृह मन्त्रालयको सहयोगमासेनाको एउटा हेलिकप्टर र पूर्व सांसद पोल्देन छोपाङको व्यक्तिगत खर्चमा हेलिकप्टर उद्दारमा खटिएको छ ।