काठमाडौं । सरकारले उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी गरेको छ।
पछिल्लो समय थपिएको निषेधाज्ञा असार ७ गते राति १२ बजेपछि सकिँदै छ।
निषेधाज्ञाको अवधि सकिँनै लाग्दा काठमाडौं उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरु एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारीमा जुटेका हुन्।
उपत्यकामा संक्रमणदर घटेपनि, मृत्युदर धेरै कम नभएको, एकैपटक निषेधाज्ञा हटाइए पुनः महामारी नियन्त्रण बाहिर जानेमा आफूहरु सजग रहेको काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीले बताए।
अब थपिने निषेधाज्ञा केहि खुकुलो बनाउने तयारी भने भइरहेको छ।
नयाँ मोडालिटीमा स्वास्थ्य मापदण्ड पालना गराएर आर्थिक गतिविधिलाई अगाडि बढाउने विषय छ। तर, नीजि सवारी चल्न दिने की नदिने भन्नेबारे अधिकारीहरुले विज्ञहरुसँग छलफल गर्ने भएका छन्।
असार ८ गतेदेखि थपिने निषेधाज्ञा समयमा होलसेल, फेन्सी, भाँडा पसल लगायतलाई निश्चित समय दिएर खुलाउने तयारी भएको छ।
यस्तै, ग्राहकलाई बसेर खान नदिने सर्तमा केही समय दिएर खाजा र चिया पसल पनि खुलाउने बारे छलफल भएको छ।
सरकारले अब ‘स्मार्ट लकडाउन’ गर्ने तयारी गरिरहेको बताइएपनि सो बारे आफूहरु जानकार नरहेको उपत्यकाका सिडिओहरुले बताएका छन्।