बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रदेशका राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले ती सामग्री स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीलाई आज हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा थपलियाले कोरोना सङ्क्रमणको समयमा जिल्लामा आवश्यक परेमा थप स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, “आम नागरिकलाई सङ्क्रमणबाट बचाउन आवश्यक सहयोगका लागि प्रदेश सरकार तयार छ ।”
जिल्लामा सङ्क्रमणको उपचारमा सबैले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो । तिवारीले प्राप्त सामग्री पालिकाहरुमा पठाइने जानकारी दिए । कार्यालयमा भएका समस्याबारे समेत उनले थपलियालाई जानकारी गराएका थिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य विजय सुवेदी र कृष्ण भुर्तेल पनि सहभागी थिए। प्रदेशले स्वास्थ्य कार्यालयलाई गाउन, सर्जिकल मास्क, ग्लोब्स, एन९५ मास्क, सुरक्षित चस्मा, फेससिल्ड, डेथबडी ब्याग, जुत्ताको कभर, स्यानिटाइजर, अक्सिजन कन्सन्ट्रेटरलगायत विभिन्न रोगका औषधि पठाएको हो ।