काठमाडौं- नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा र पम्फा भुसालको मन्त्रीमा चौंथो इनिङ सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट शर्मा र भुसाल मन्त्री बनेका हुन्।
शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मा दिइएको छ। उनीहरूले मंगलबार राती राष्ट्रपतिभवन शीतलनिवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिए।
शर्मा अन्तरिम विधायकसहित चार पटक सांसद र तीन पटक मन्त्री भइसकेका छन्। शर्मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्री भएका थिए।
दोस्रो कार्यकाल शर्मा प्रचण्ड नेतृत्वको सरकारमा ऊर्जा र देउवा नेतृत्वको सरकारमा गृहमन्त्री भएका थिए। चौंथो पटक शर्मा देउवा नेतृत्वको सरकारमा अर्थ मन्त्रीका रुपमा प्रवेश गरेका हुन्।
शान्तिमन्त्री हुँदा खासै काम गर्न नसकेका शर्मा ऊर्जा मन्त्री हुँदा भने राम्रो काम गरेको भनेर चर्चामा आएका थिए। तर, गृहमन्त्री हुँदा तुलनात्मक रुपमा राम्रो काम गर्न नसकेको भनेर आलोचित भएका थिए। यस्तै, माओवादी स्थायी समिति सदस्य भुसाल अन्तरिम विधायकसहित तीन पटक सांसद भएकी थिइन्।
गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भएकी भुसाल प्रचण्ड नेतृत्वको सरकारमा सामान्य प्रशासन र झलनाथ खनाल नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्री भएकी थिइन्।