सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डमा संलग्न व्यक्ति गिरफ्तार भएका छन्। यसअघि पक्राउ परेका आरोपीले आफ्नो अपराध स्वीकार गरेका हुन्।
प्रहरीका अनुसार पक्राउ पर्ने लोकबहादुर कार्कीले प्रहरी समक्ष हत्या गरेको स्वीकार गरेका हुन्। उनी हत्या गरिएका कार्की परिवारकै भतिजा पर्ने आफन्त हुन्।
गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो। उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो।