प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति निधन भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बत्तीसपुतलीस्थित स्व राणाको निवास पुगेर उनको पार्थिव शरीरमा माल्यार्पण गरि पार्टीको चारतारे झण्डा ओडाएर श्रद्धासुमन व्यक्त गरे। राणाको गए राति ८५ वर्षको उमेरमा निधन भएको उनका ज्वाई अनिलकेशरी शाहले जानकारी दिए। उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने उनले बताए।
राणालाई श्रद्धाञ्जलि दिन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, उदयशमशेर राणालगायत उनको निवासमा पुगेका थिए। राणा मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए। मिर्गौला प्रत्यारोपणपछि उनी नियमितरूपमा डायलायसिस गर्दै आएका थिए। गए राति एक्कासी स्वास्थ्यमा खराबी आएपछि घरमै चिकित्सक र एम्बुलेन्स बोलाइए पनि अस्पताल लैजान नपाउँदै राणाको निधन भएको उनका ज्वाई शाहले बताए। स्व राणाका एक श्रीमती र एक छोरी छन्।