काठमाडौं । प्रतिनिधि सभाको जारी नवौँ अधिवेशनको बैठक आज सोमबार बिहान ११ बजे बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक माथिको छलफल र जवाफलाई कार्यसूचीमा राखिएको छ ।
संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ। अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापन कार्यमार्फत चारवटा विधेयक प्रस्तुत गर्नेछन्।
मन्त्री शर्माले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक विचार गरियोस् भन्नका लागि प्रस्ताव र आर्थिक विधेयकमाथि दफावार छलफलका लागि दिन तोक्नका लागि प्रस्ताव पेस गर्नेछन्।
यस्तै बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका विभिन्न शीर्षकहरूमा सांसद प्रेम सुवालबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।