काठमाडौं । आगामी आइतबारदेखि भौतिकरुपमा विद्यालय खोल्ने काठमाडौं महानगरपालिकाले निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिकरुपमा खोल्ने निर्णय भएको हो । कामपा शिक्षा विभागले विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको हो ।
कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार भौतिकरुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिएर कार्ययोजना बनाएर कामपामा पेश गर्नुपर्नेछ । विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य नगरेको पनि कामपाले जनाएको छ ।