राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्रीले जङ्गी अड्डामा आयोजना गरिएको दुईदिने ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक’को शुभारम्भ गर्दै राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अङ्गको रुपमा रहेको नेपाली सेनालाई परिवेश र परिस्थितिको वस्तुपरक विश्लेषणका साथ रणनीतिक कार्ययोजना बनाएर काम गर्न निर्देशन दिए।
“अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा स्थितिको विश्लेषण गर्दै सम्बन्धित साझा रणनीतिका साथ अघि बढ्ने गुरुत्तर दायित्व नेपाली सेनाको काँधमा छ,” सुरक्षा चुनौतीको सामना गर्न समय–सान्दर्भिक प्रतिकारात्मक उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री देउवाले भने ।
नेपाली सेनाद्वारा भइरहेका विकास निर्माणका कार्यलगायत सेनाले सञ्चालनका निम्ति तर्जुमा गरेका योजना गरेका दीर्घकालीन महत्वका परियोजनालाई स्रोतको सुनिश्चितता गर्न नेपाल सरकारबाट हरसम्भव प्रयास हुने उनले बताए ।