काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका छन्।
मङ्गलबार नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका हुन्। उनले यस वर्षको तिहारमा करिब १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको बताए।
कार्यकारी निर्देशक घिसिङले अहिले कुलेखानीको विद्युत् खेर गइरहेको बताउँदै प्रसारणको कारणले तिहारमा कतै पनि विद्युतको अभाव नहुने बताए। उनले आमनागरिक तथा उपभोक्ताहरुलाई ढुक्कसँग बिजुली चलाउन आग्रह गरे।
‘तिहारको लागि लोडअनुसारको आपूर्ति धेरै बढी छ, कुनै समस्या हुँदैन, बत्ती काट्ने, लोडसेडिङ गर्ने कुनै अवस्था छैन। त्यसैले, ढुक्कासाथ जति पनि तिहार मनाउँदालाई लाइटिङ सिस्टम राख्नुपर्ने हो, इक्विपमेण्ट चलाउँदा पनि हामीलाई असर पर्दैन, सबै आमनागरिक उपभोक्ताले निर्धक्कका साथ तिहारमा झिलिमिली गर्दा हुन्छ,’ घिसिङले भने।
उनले समय-समयमा बत्ती जाने समस्यालाई गम्भीरताका साथ लिएको बताउँदै वितरण प्रणालीमा व्यापक सुधार गर्ने बताए। ट्रान्सफर्मरको समस्या धेरै रहेको र अब तत्काल त्यसको समाधान हुने उनले बताए। कार्यकारी निर्देशक घिसिङले भरपर्दो विद्युत् कसरी दिने भन्ने अबको चुनौती रहेको बताउँदै अब देशभर स्मार्ट चार्जिङ स्टेसन राख्ने बताए।