लक्षण देखिने कोरोना सङ्क्रमणका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ । ‘मोल्न्यूपिरभीर’ चक्की कोरोना भाइरसको सङ्क्रमणबाट जोखिम समूहमा पर्ने बिरामीलाई दिनमा दुई पटक दिइनेछ ।
सुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको यो चक्कीले अस्पताल भर्ना हुनुपर्ने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणबाट देखिएको छ ।
बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले दुर्बल तथा रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसका लागि यो औषधि महत्त्वपूर्ण हुने बताएको बीबीसीले जनाएको छ ।
कोरोनाका बिरामीलाई घरमै लैजान सक्ने एन्टिभाइरललाई अनुमोदन गर्ने बेलायत विश्वकै पहिलो देश बनेको स्वास्थ्यमन्त्रीको वक्तव्यमा उल्लेख छ । ‘मोल्न्यूपिरभीर’ अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्युटिक्सले बनाएको हो ।